सल्यानमा छयालीस वर्षपछिकै ठूलो वर्षा, लाखौँको क्षति

Post Date : May 13, 2016 | 11:24 am

सल्यान, ३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पु¥याएको छ ।

वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ ।

यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिनुभयो । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पुरयाउँदा गाउँमा बिजुली बन्द भएको खड्काले बताउनुभयो । “ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिएन, हेर्दाहेर्दै बजार नै बगायो”, खड्काले भन्नुभयो ।

वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिनुभयो ।

घटनापछि उद्धारका लागि वाङ्गे लाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिनुभयो । विकट र फोन सम्पर्क हुन नसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको पाण्डेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *