सुदूर पश्चिममा युवा स्वरोजगार कर्जा अलपत्र

Post Date : June 4, 2016 | 9:43 am

डोटी, २२ जेठ । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्नका निम्ति सरकारी निर्णयबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ ।

कृृषि विकास बैंकमार्फत युवा लक्षित गरेर प्रवाह गरिएको कर्जा असुल हुन नसकेको हो । लगानी डुब्दा तथा असुल नहँुदा यहाँका बैंक सङ्कटमा परेका छन् ।

सुदूरपश्चिमका छ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र अछाममा प्रवाह गरिएको बिना धितोको कर्जा असुलीमा बारम्बार ताकेता गरिँदासमेत ऋणि मौन बनेका छन् ।

विसं २०६८ मा बेरोजगार युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्न बिना धितो कर्जा बाँड्ने निर्णय गरिएको थियो । सोही आधारमा सुदूरपश्चिमका ८७८ जनाले ऋण लिएका थिए ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धु्रवचन्द्र गौतमका अनुसार सुदूरपश्चिममा रु पाँच करोड आठ लाख कर्जा प्रवाह गरिएको थियो । उहाँले भन्नुभयो, “तीन वर्ष बितिसक्दा समेत सो लगानी असुल नभई निस्क्रिय ब्याज बढेपछि पहाडी जिल्लामा थप लगानी गर्न सकिएको छैन ।”

बैंकले लगानी नगर्दा नसक्दा सर्वसाधारण मारमा परेका छन् । बैंकिङ नीतिअनुसार निस्क्रिय ब्याजदर पाँच प्रतिशतभन्दा कम भएमा कर्जा प्रवाह घटाउनु पर्छ ।

हाल आएर तीन वर्षयता सुदूरपश्मिका छ जिल्लामा वितरण गरिएको कर्जामध्ये वैशाख मसान्तसम्म रु एक करोड ६० लाख ४४ हजार साँवा मात्र असुल भएको छ । जसमा रु दुई करोड ६६ लाख ४८ हजार साँवा भाका नाघेको, रु एक करोड चार लाख ७९ हजार ब्याज बाँकी र रु तीन करोड ४७ लाख ५६ हजार साँवा रकम उठ्न बाँकी रहेको कृषि विकास बैंकले जनाएको छ । जसअन्तर्गत जम्मा कर्जाको भाका नाघेको ७६.६७ प्रतिशत र असुल हुन बाँकी ब्याज ३०.१५ प्रतिशत हुन आउँछ ।

विगतमा सरकारले रु ३० हजारसम्मको ऋण मिनाहा तथा रु एक लाखसम्मको ऋणको ब्याज मिनाहा गरेको थियो । सोही कारण पनि ऋणीले सरकारी निर्णयबाट कुनै न कुनै बेला ऋण मिनाहा हुने आशाले समेत कर्जा बुझाउन मानेका छैनन् । कृषि विकास बैंक शाखा कार्यालय डोटीका प्रबन्धक रुद्रबहादुर केशीका अनुसार साना र विपन्न केही व्यवसायीले नियमित किस्ता दिने गरे तापनि राजनीतिमा पहुँच भएका तथा ठूला व्यापारीले दिन मानेका छैनन् ।

वास्तविक उद्यमी नभएर राजनीतिक खिचातानीका कारण कर्जा वितरण गरिएकाले त्यस्तो समस्या आएको केसीको बुझाइ छ । सरकारले देशका २५ जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत रु एक अर्ब वितरण गर्ने भनिए तापनि रु २२ करोड मात्रै वितरण गरिएको थियो ।

अन्य क्षेत्रका कृषि बैंकले स्वरोजगार कर्जा प्रवाह नगरेकाले पनि समस्या छैन् तर सुदूरपश्मिका बैंकलाई बिना धितोको कर्जा असुल गर्न हम्मेहम्मे परेको छ । (खेम बम) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *