स्कुसबाट बीस लाख आम्दानी

Post Date : November 24, 2016 | 3:56 pm

इलाम, ९ मङ्सिर । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गर्नुभएको छ ।

यस वर्ष उहाँले एक हजार ४०० क्विन्टल स्कुस बिक्री गर्नुभएको छ । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उहाँले स्कुस बिक्री गर्नुभएको हो । सुरुवातमा तामाङले प्रतिमन रु एक हजार २०० मा बिक्री गर्नुभएको थियो ।

पन्ध्र रोपनी जमिनमा उहाँले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आउनुभएको छ । ऋण काढेर रु २० हजारको लगानीमा तरकारी खेती गर्नुभएका उहाँले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल हुनु भएको छ । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै रु ३० हजार आम्दानी भयो,” उहाँले भन्नुभयो । गत वर्ष स्कुसको जरा बिक्री गरी रु एक लाख २० हजार आम्दानी गर्नुभएको थियो ।

सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिरहनुभएको छ । उक्त वडाका प्रत्येकले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आउनुभएको छ । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउनुहुन्छ । चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्यत पु¥याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *