२ अर्ब २० करोड मानिस जिका भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्ने गरेको अध्ययनको ठहर

Post Date : April 21, 2016 | 3:16 pm

विश्वका दुई अर्बभन्दा बढी मानिस जिका भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेको एक अध्ययनले देखाएको छ । जिका भाइरस फैलिरहेको ठाउँको नक्शासहित सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार विश्वका २ अर्ब २० करोड मानिस बस्ने क्षेत्रमा जिका भाइरस फैलन सक्ने खतरा औल्याइएको हो ।

इलाइफ जर्नलमा प्रकाशित बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययन प्रतिवेदन अनुुसार लामखुट्टे जीवित रहन सक्ने क्षेत्रमा जिकाको संक्रमण अनुमान गरेभन्दा धेरै डरलाग्दो गरी फैलिरहेको छ । अनुसन्धानकर्तामध्येका डा. ओलिभर ब्राडीले जिका भाइरसको संक्रमणबारे पहिलो पटक ठाउँको नक्सासहित अध्ययन प्रतिवेदन सार्वजनिक भएको बताउनुभयो ।

अनुसन्धानकर्ताले अफ्रिका र एशियाका धेरै ठाउँमा पनि जिकाको संक्रमण हुन सक्ने खतरा औल्याएका छन् । जिका भाइरसका कारण शिशुको मस्तिष्क असामान्य रुपमा सानो हुने गर्छ । दक्षिण अमेरिकाका धेरै क्षेत्रमा जिकाको संक्रमण फैलिरहेको अनुसन्धानकर्ताले पुष्टि गरेका छन् । एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट जिकाको संक्रमण हुन्छ । सबैभन्दा पहिले ब्राजिलमा देखिएको जिकाको संक्रमण फैलँदै क्यारेबियन राष्ट्र, अमेरिका र दक्षिण कोरियालगायत देशमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *