अदुवा किसान सङ्कटमा

Post Date : December 10, 2016 | 9:58 am

इटहरी, २५ मङ्सिर । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।

पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् । अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी रु १५ देखि रु २० मा पनि बिक्न छाडेको छ । गत वर्ष यही समयमा किसानले अदुवा प्रतिकेजी रु ५० देखि ७० मा बिक्री गरेका थिए ।

अहिले बिचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किन्न छाडेकाले आफूहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् । विशेष गरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ र उदयपुर जिल्लाबाट किसानले अधिकतम रूपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् । यस पटक भने उचित मूल्य नपाएपछि किसानहरु बजारमा भुक्तानीबिनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुन सक्ने स्थिति देखापरेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *