नेपाल राष्ट्र बैंकका अनुसार १००० र ५०० दरका भारु नोट ३ करोडभन्दा बढी

Post Date : November 10, 2016 | 5:17 pm

काठमाडौँ, २५ कात्तिक । मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० हजार रहेको छ छ ।

हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राससको जिज्ञासामा नेपाल राष्ट्र बैंकले सो जानकारी दिएको हो । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारी सहित राष्ट्र बैंकले आजै रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिनुभयो । मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम नभएको तर सर्वसाधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

उहाँका अनुसार भारत सरकारले अवैधानिक र गैरकानुनी रुपमा राखिएका रकम नष्ट गर्ने उद्देश्यले उक्त नीति लिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा सर्वसाधारणलाई यही कात्तिक २५ देखि आगामी पुस १५ गतेसम्म आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाक मार्फत जम्मा गर्न आग्रह गर्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *