रु अढाई अर्बको बालीनाली नष्ट

Post Date : May 18, 2016 | 4:18 pm

जनकपुरधाम, ५ जेठ । खडेरीका कारण यस वर्ष धनुषामा रु दुई अर्ब ६७ करोड १९ लाख बराबरको आँप, लिची, खरबुजा, मुङ्गको दाल तथा वर्षे तरकारी नष्ट भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार लामो समयसम्म पानी नपर्दा यस वर्ष ५५ प्रतिशतले आँप उत्पादनमा ह्रास आएको छ । किसानले २७७१ हेक्टर क्षेत्रफलमा आँप लगाएकोमा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन भएको छ । हावाहुरी, पानीको अभाव र सुक्खा मौसमको कारण रु ६१ करोड १९ लाखको १७ हजार ४८६ मेट्रिक टन आँप नष्ट भएको योजना अधिकृत सुरेन्द्र गोइतले जानकारी दिनुभयो ।

यसैगरी ३५० हेक्टर क्षेत्रफलमा एक हजार ६८० मेट्रिक टन लिची उत्पादन हुने अनुमान गरिए पनि ४५ प्रतिशतले उत्पादनमा ह्रास आएको छ । रु ३४ करोड बराबरको ७५६ मेट्रिक टन लिची नष्ट भएको छ भने ५४५ हेक्टर क्षेत्रफलमा रहेको खरबुजाको उत्पादन ७ हजार ८८५ मेट्रिक टन हुनुपर्नेमा १५ प्रतिशतले ह्रास आएको छ । रु १६ करोड बराबरको एक हजार ६५ मेट्रिक टन खरबुजा नष्ट भएको छ ।

यसैगरी दहलहन बालीअन्तर्गत एक हजार ५३ हेक्टर क्षेत्रफलमा मुङको दाल लगाएकोमा एक हजार १५८ हेक्टर उत्पादन हुनुपर्नेमा रु ८६ करोड बराबरको ७१७ मेट्रिक टन नष्ट भएको छ । यसैगरी किसानले एक हजार ९०५ हेक्टर क्षेत्रफलमा वर्षे तरकारीखेती गरेकोमा २३ हजार २०४ मेट्रिक टन उत्पादन हुनुपर्नेमा १० प्रतिशतले क्षति भएको छ । रु ७० करोड मूल्य बराबरको दुई हजार ३२० मेट्रिक टन वर्षे तरकारी नष्ट भएको बताइएको छ ।

आँप, लिचीलगायतका फलफुल, तरकारी नष्ट भएपछि व्यापारीले सीमावर्ती भारतीय बजारबाट आयात गरेर स्थानीयवासीको माग पुरा गर्ने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *