सरकारी अनुदानले बनायो उद्यमी

Post Date : June 10, 2016 | 2:49 pm

बागलुङ, २८ जेठ । दगातुम्डाँडा–८ राक्सेका किसान दुर्गा अर्यालसित डेढ वर्षअघि तीन घार माहुरी थिए । सरकारी अनुदान पाएपछि उहाँको घरमा हाल २७ घार माहुरी छन् ।

जिल्ला कृषि विकास कार्यालयको स्वरोजगार कार्यक्रमबाट गत वर्ष उहाँले रु एक लाख ८० हजार अनुदान सहयोग पाएपछि माहुरीपालन विस्तार गर्नुभएको हो । “अनुदान पाएपछि माहुरीपालनलाई उद्यमका रुपमा अघि बढाएको छ,” उहाँले भन्नुभयो । एक वर्षको अवधिमा १०० किलो मह बिक्री गरेको अर्यालले बताउनुभयो ।

मह घरबाटै प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । उहाँले मासिक रु एक लाख आम्दानी गरिरहनुभएको छ । बहुसरोकारवाला वन कार्यक्रमले समेत अर्याललाई रु १५ हजार ऋण सहयोग गरेको छ । कम लगानी र खर्चमा मनग्य आम्दानी हुनथालेपछि उहाँ माहुरीपालनतर्फ आकर्षित हुनुभएको हो ।

“माग धान्न सकेको छैन,” उहाँले भन्नुभयो –“उत्पादन भएको मह गाउँमै खपत हुन्छ ।” एउटा घारबाट वर्षमा तीन पटकसम्म मह काढ्न सकिन्छ । पछिल्लो समय माहुरीपालन व्यावसायिक बन्दै गएको छ ।

जिल्लालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने जिल्ला कृषि विकास कार्यालयको लक्ष्य छ । माहुरीपालनका लागि गत वर्ष २० जना किसानलाई रु एक लाख ८० हजारका दरले अनुदान उपलब्ध गराएको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो । जिल्लामा यस आवमा ६०० माहुरीका घार वितरण गरिएको छ भने २५ टन मह उत्पादन भएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *