सिडिएससीले तीन क्लियरिङ बैंकको छनौट गर्यो

Post Date : March 17, 2017 | 9:12 am

काठमाडौँ, ४ चैत । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकको रूपमा छनौट गरेको छ । नेपाल स्टक एक्सचेञ्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मूल्याङ्कन तालिका अनुसार सिडिएससीले तीन बैंकलाई क्लियरिङ बैंकमा छनौट गरेको हो ।

सिडिएससीले थप तीनवटा क्लियरिङ बैंक नियुक्त गर्न सूचना प्रकाशित गरी आशयपत्र माग गरेकोमा सानिमा बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंकको आशयपत्र पेश गरेका थिए । प्राप्त आशयपत्रको मूल्याङ्कन गरी उच्च अंक प्राप्त गर्ने बैंकलाई सिडिएससीको मूल्याङ्कन समितिले सिफारिस गरेको थियो ।

प्रतिस्पर्धात्मक रूपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशयपत्रमा ‘क’ वर्गको वाणिज्य बैंक हुनु पर्ने, चुक्ता पूँजी बढी भएकालाई प्राथमिकता दिने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनु पर्ने, आस्बा प्रणालीको सदस्य भएको हुनु पर्ने, डिपी लाइसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्चालन भएको बैंकले लिने शुल्क तथा प्रदान गर्ने सुविधा प्रतिस्पर्धी भएको र सरकारी कारोबार गरेको मापदण्डलाई आधार बनाएको जनाइएको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फर्स्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ बमोजिम क्लियरिङ बैंक थप गर्ने प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

हाल ग्लोबल आइएमई बैंकले क्लियरिङ बैंकको काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *