होटल व्यवसायमा ८७ करोड लगानी

Post Date : September 17, 2016 | 9:48 pm

बाबियाचौर(म्याग्दी), १ असोज । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२/७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन् ।

ती होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको समितिका उद्योग दर्ता शाखाका खरिदार इन्द्र पौडेलले बताउनुभयो । बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायत पर्यटकीय स्थलमा केही वर्षयता होटल तथा रेस्टुरेन्ट स्थापना हुने क्रम बढेको छ ।

पर्यटकको आवागमन बढेको र पाहुनाको चाहनाअनुसारको सुविधा दिन होटलमा लगानी तथा क्षमता बढाएको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।

नयाँ होटल खुल्ने र पुरानाले सेवा सुविधा तथा स्तरोन्नति गर्न थालेपछि यस क्षेत्रमा लगानी बढेको हो । होटलले क्षमत्ता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात बिताउनुपर्ने समस्या समेत हटेको छ । जिल्लामा दृश्यावलोकन, पदयात्रा र हिमाल आरोहणको प्रशस्त सम्भावना रहेकाले व्यवसायीहरु होटल तथा रेस्टुरेन्ट व्यवसायतर्फ आकर्षित भएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *