खिवाङमा लघुजलविद्युत् परियोजना निर्माण

Post Date : June 6, 2016 | 3:11 pm

बाबियाचौर (म्याग्दी), २४ जेठ । म्याग्दीको मुदी गाविसको ६ र ७ नं वडामा पर्ने खिवाङ गाउँमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ ।

बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन)को सहयोगमा २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघुजलविद्युत् परियोजना निर्माण भएको हो । परियोजनाबाट खिवाङ गाउँका १२७ घरधुरीमा विद्युत् सुविधा पुगेको निर्माण समितिका अध्यक्ष रामबहादुर पुनले बताउनुभयो ।

परियोजनाबाट आइतबारदेखि नियमित विद्युत् उत्पादन सुरु भएको छ । उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, सामुदायिक विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन सञ्चालन गर्न थालिएको छ ।

यसअघि उज्यालोका लागि सोलार र टुकीको प्रयोग गर्दै आएका दुर्गम क्षेत्रमा पर्ने खिवाङ गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । परियोजना निर्माण गर्न कादुरीले रु दुई करोड चार लाख ५९ हजार ७४६ लगानी भएको जनाएको छ ।

कादुरीले बहालवाला र पूर्व गोर्खा सैनिकको बसोबास रहेको म्याग्दीका विभिन्न बस्तीमा गोर्खा वेयलफेयर स्किमको सहकार्यमा जलविद्युत्, खानेपानी र झोलुङ्गे पुल योजना निर्माण गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *