नबिल बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

Post Date : June 9, 2017 | 3:30 pm

काठमाडौँ, २६ जेठ । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपाल (ASMAN) सँग सहकार्य गरी बेबी लाईफ होम कीर्तिपुरलाई १ लाख १५ हजार रुपैयाँ बराबरको खाने कुरा, स्टेशनरी तथा अन्य देनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु त्यहाँ बस्ने बालबालिकाहरुलाई वितरण गर्नको लागि मिति २०७४ जेठ २४ गते बेबी लाईफ होमलाई हस्तान्तरण गरिएको हो ।

बेबी लाईफ होम एचआईभी लागेका अनाथहरुको लागि स्थापना गरिएको एक अनाथालय हो र यसले एचआईभी संक्रमित बालबालिकाहरुलाई खाना, आवास तथा शिक्षा प्रदान गर्दछ । हाल बेबी लाईफ होमले नेपालको विभिन्न क्षेत्रबाट आएका ५ देखि १८ वर्षको उमेर समूहका २३ जना बालबालिकाहरुलाई संरक्षण र हेरचाह प्रदान गरिरहेको छ र ती बालबालिकाहरुलाई एचआइभी संक्रमितको लागि स्थापना गरिएको पहिलो विद्यालय सफलता एचआईभी शिक्षा सदनबाट शिक्षा प्रदान गरिरहेको छ ।

नबिल बैंकका नायब महाप्रवन्धक रमेश प्रसाद लोहनीले उक्त सामाग्रीहरु बेबी लाईफ होमलाई हस्तान्तरण गर्नु हुँदै यस्तो उत्कृष्ट सेवाको काममा सहभागी हुन पाएकोमा सन्तुष्टी व्यक्त गर्नु भएको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी सहयोगको अझ बढी प्रतिवद्धताका साथ लागि परेको समेत उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *