पन्ध्र हजार हेक्टर वन क्षेत्र खरानी

Post Date : May 9, 2016 | 7:28 pm

सल्यान, २७ वैशाख । विभिन्न सामुदायिक वनमा लागेको डढेलाले १५ हजार हेक्टर वन क्षेत्र खरानी भएको छ ।

खडेरीका कारण सुख्खा भएको वन क्षेत्रमा गत चैत पहिलो सातादेखि नै डढेलो लागेको थियो । डढेलाका कारण सबैभन्दा बढी सामुदायिक वनमा क्षति पुगेको छ । हालसम्म १९ गाविसमा रहेका २५ सामुदायिक वनको करिब १० हजार हेक्टर वन क्षेत्र सखापै भएको छ । यस्तै राष्ट्रिय वनको करिब पाँच हजार हेक्टर वन समेत खरानी भएको छ ।

दक्ष जनशक्ति र प्रविधिको अभावले डढेलो नियन्त्रण गर्न नसकिएको सहायक जिल्ला वन अधिकृत थिरप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीको खबर तुरन्तै आउँछ, तर हामीसँग दक्ष जनशक्ति छैनन्, स्थानीय स्रोत साधनको प्रयोगले मात्र आगो निभाउन कठिन हुन्छ ।” सल्लाको वन बढी भएकाले पनि आगलागी बढेको कोइरालाको भनाइ छ ।

आगाका कारण सङ्कलनका लागि तयार अवस्थामा रहेको खोटो नष्ट भएपछि सामुदायिक वनलाई करोडौँको नोक्सानी भएको छ । खोटो बिक्री मार्फत आउने करिब रु दुई करोड बराबरको खोटो नष्ट भएको सहायक वन अधिकृत कोइरालाले बताउनुभयो । वनबाट बस्तीमा पसेको आगो निभाउने क्रममा यही वैशाख १४ गते शारदा नपा–१० मा एकै घरका दुई जनाको मृत्यु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *