फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

Post Date : March 2, 2017 | 12:12 pm

चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् ।

रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताउनुभयो । उहाँलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वाङ्ग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

अन्य तुलसीपुर, धरान, काठमाडौँ बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाउनु भएको थियो ।

फेसबुक चलाउँदै आउनुभएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढङ्गले उहाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुनुहुन्छ । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ ।

पटकपटक गरी भारत बस्दै आएका एक व्यक्तिले उहाँलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर परयो भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । थापाका अनुसार न्यौपानेले विभिन्न छ चरणमा गरी उनलाई पैसा पठाउनुभएको थियो ।

आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौँमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताउनुभयो ।

ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्ड समेत पठाएर रु ५० लाख दिई सकेपछि मात्र काडले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताउनुभयो । काडमा चिप्स नभएको थाहा भएपछि उहाँ ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ वटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमै मात्रको लेनदेन टुङ्गिएको छ ।

अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *