बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा निकै हर्षोल्लास

Post Date : May 21, 2016 | 8:03 am

लुम्बिनी, ७ जेठ । सरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ ।

लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुनं आफनो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ ।

शनिबार मनाउन लागिएको बुद्ध जयन्ती समारोहमा राष्ट्रप्रमुखदेखि लिएर उपप्रधानमन्त्री तथा मन्त्री, सांसद कार्यक्रम आयोजनास्थलमा आइसक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने भोलि बिहान नै आउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान आएपछि बुद्धभूमिप्रतिको सम्मान, सद्भाव र महत्व थप बढाएको छ । लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव अजितमान तामाङले राष्ट्रपति भण्डारीको आगमनले बुद्धभूमिको सम्मानका साथै थप महत्व बढाउन मद्दत पुगेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले मायादेवी मन्दिर परिसरमा अवलोकन गरी मायादेवी मन्दिरको दर्शनसमेत गर्नुभयो ।

एसियाको ज्योतिको रुपमा परिचित भगवान् गौतमबुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान नेपालको लुम्बिनीलाई सरकारले यसपटक अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त बौद्धधर्म गुरुको उपस्थितिमा बुद्धजयन्ती मनाउन लागेको हो । भोलि बुद्धजयन्ती समारोहमा करिब १५ हजारको आगमन हुनेछ । शाक्यमुनि गौतमबुद्धप्रतिको आस्था र विश्वासमा आएकालाई व्यवस्थापन गर्न भने निकै चुनौती हुने देखिन्छ । करिब सात हजार बस्न मिल्ने व्यवस्थापन गरिएकामा त्यसको दोब्बर भक्तजन हुने भएपछि कठिनाइ हुने सदस्य सचिव तामाङको भनाइ छ ।

बुद्ध जयन्ती समारोहमा पुगी गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि सुरक्षा, व्यवस्थापनलगायतको विषयमा जानकरी लिनुभयो । बुद्धप्रेमीको उल्लेखनीय रुपमा सहभागिता हुन लागेको हुनाले व्यवस्थापनमा कठिनाइका साथै सुरक्षा व्यवस्थासमेत राम्ररी गर्नका लागि उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।

समारोहस्थल शान्त र सुन्दर भएनभएका बारेमा कार्यक्रम स्थलमा पुगी आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी लिनुभयो ।
भोलि बिहान राष्ट्रपतिले बुद्ध जयन्ती समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँमा दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्पन्न भएपछि सोही गोष्ठीमा सहभागी भएका विभिन्न २८ देशका ३५० भन्दा बढी विदेशी धर्मगुरुका समूह पनि आजै लुम्बिनी आइपुग्नुभएको छ ।

सरकारले यसअघि नै विशिष्ट व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने तय गरेको थियो ।

यसवर्षको लुम्बिनी दिवसको “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । गोष्ठी तथा बुद्ध जयन्ती समारोहको मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको थियो । (कालिका खड्का) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *