भरतपुरमा सिटी बस भित्रियो

Post Date : November 22, 2016 | 4:13 pm

चितवन, ७ मङ्सिर । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिएका छन् ।

‘ग्लोबल मेट्रो सिटी बस प्रालि’का नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा र गैँडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागिएको हो । कम्पनीका अध्यक्ष बद्री अधिकारीले २५ वटा बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

स्थानीय २५ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस आयात गरेका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ ।

रु आठ करोड ५० लाखको लागतमा बस आयात गरिएको अधिकारीले बताउनुभयो । बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक, सहायक निरीक्षकले तालिम दिइरहेका छन् । बसका सबै सहचालक महिला रहेका छन् । मङ्सिर १९ गतेबाट भरतपुर उपमहानगरपालिका र गैँडाकोट क्षेत्रमा सिटी बसले सेवा सञ्चालन गर्ने छ ।

केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने कम्पनीका अध्यक्ष अधिकारीले बताउनुभयो ।

विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नेका लागि परिचय पत्रको समेत व्यवस्था गरिएको छ । मासिक रु ९०० तिरेपछि जति पटक बस चढे पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *