मुस्ताङका किसान ट्र्याक्टरतर्फ आकर्षित

Post Date : June 6, 2016 | 1:10 pm

मुस्ताङ, २४ जेठ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि मुस्ताङका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका हुन् ।

गत आवमा जिल्लाका अगुवा सात जना किसानलाई मात्र वितरण गरिएको ट्र्याक्टरका लागि चालु आवमा ४५ जनाले माग फारम भरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

झोपा र गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् ।

स्याउ उत्पादन गर्ने किसानले सबैभन्दा बढी ट्र्याक्टरको माग गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । “खेतको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले किसानले यसको महत्व बुझ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

एउटा ट्र्याक्टरलाई कम्तीमा रु ५० देखि बढीमा ७० हजार पर्छ । त्यसमध्ये, चालु आवमा रु २५ हजार सरकारले अनुदान उपलब्ध गराउने अधिकृत बोगटीले जानकारी दिनुभयो । उहाँले कृषिमा यान्त्रीकरण गर्ने सरकारी नीतिका कारण अनुदान रकम आगामी आवदेखि अझ बढ्ने विशवास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *