रुपन्देहीको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा

Post Date : October 27, 2016 | 12:18 pm

रुपन्देही, ११ कात्तिक । रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा आएको छ । हिजो (२०७३।०७।१० गते) आयोजित एक कार्यक्रमका बीच माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गर्नु भयो । मन्त्री कार्कीले नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा माननीय मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने कुरा बताउनु भयो ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै 3G सेवालाई प्रत्येक क्षेत्रमा पुरयाउन र 4G सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताउनु भयो ।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक सिद्धप्रताप भारतीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सो क्षेत्रका जनसमुदाय, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन (Voice) र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *