सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवसः महिला समानताका लागि आर्थिक उन्नति

Post Date : March 8, 2017 | 8:22 am

काठमाडौँ, २५ फागुन । समान कामको समान ज्याला हुनुपर्ने आवाज बुलन्द पार्न सुरु गरेको १०७ वर्ष बितिसक्दा पनि महिलाले अझै पनि समान श्रमको समान ज्याला पाउन सकेका छैनन् ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरबाट समान कामको समान ज्यालाका लागि उठेको आवाज अहिलेसम्म आइपुग्दा कार्यान्वयन भएको देखिँदैन । विश्वभरि नै त्यसका लागि अझै आवाज उठिरहेको छ ।

“पुरुषले जतिकै महिलाले पनि काम गर्न सक्छन्, तर महिलाले समान ज्याला प्राप्त अझै पनि गर्न सकेका छैनन्, महिला उत्थानको मुख्य आधार आर्थिक उन्नति नै हो”– राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले भन्नुभयो ।

विश्वमै महिलाले दोहोरो–तेहोरो काम जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ । घरको काम, बालबच्चा हेरचाह, कार्यालयको काम गर्नुपर्ने अवस्था छ । तर घरायसी कामको आर्थिक मूल्याङ्कन गरिँदैन । महिलाको कामको भार भने पुरुषको तुलनामा बढी देखिन्छ ।

“महिलाको हातमा अहिले पनि आर्थिक अधिकार छैन, आर्थिकमा महिलाको पहुँच र नियन्त्रण जरुरी छ, महिलाको नेतृत्व विकास र आफू अनुकूलन निर्णयका लागि पनि आर्थिक नै महत्वपूर्ण कुरा हो”– महिला अधिकारकर्मी शर्मिला कार्कीको ठहर छ ।

महिलाले काममा धेरै खटिए पनि उनीहरुको पहुँचमा सम्पत्ति र सम्पत्तिको निर्णय गर्ने अधिकारमा अझै पनि पुग्न सकेको छैन ।

“महिलाले सबै काम गर्न सक्छन्, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षकदेखि लिएर हरेक क्षेत्रमा काम गरेका छन्, महिलाले के गर्न सक्दैनन् ?”– प्रश्नको शैलीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले भन्नुभयो ।

महिलाको आर्थिक सबलीकरणका लागि सीप मात्र नभई आयमूलक सीप दिने विषयमा सरकार लागिरहेको उहाँको भनाइ थियो । नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकमा ‘समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै पनि भेदभाव गरिने छैन्’ भनेर उल्लेख गरिएको छ । उक्त संवैधानिक व्यवस्थाअनुसार नेपालले महिला र पुरुषबीच ‘समान कामको समान ज्याला’ दिनुपर्ने कुराको ग्यारेन्टी गरेको छ । तर कार्यान्वयनमा आउन भने बाँकी छ ।

नेपालको सन्र्दभमा हेर्दा राजनीतिक हिसावले निकै राम्रो देखिन्छ । राज्यको प्रमुख तीन अङ्गको नेतृत्व महिलाले गरिरहनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले हुनुहुन्छ । नेपालको इतिहासमा तीन मुख्य अङ्ग महिलाले हाक्नुलाई पनि ठूलो सफलता मान्न सकिन्छ ।

प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तराष्ट्रिय महिला दिवस महिला जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्वमरण गर्दै विश्वव्यापी रुपमा यो दिवस बनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिंदो परिवेशमा कामकाजी महिला: सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ । नेपाल सरकारले पनि यो दिवसलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन भयो ।

सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा ग¥यो । त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रुपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । (कालिका खड्का) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *