श्रीलङ्का र कम्बोडियामा चिनियाँ पर्यटक बढे

Post Date : July 5, 2016 | 3:21 pm

कोलम्बो, २१ असार । श्रीलङ्कामा यसवर्ष चिनियाँ पर्यटक बढेको समाचार छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रीलङ्कामा चिनियाँ पर्यटक बढेको समाचारमा जनाइएको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणले दिएको जानकारीअनुसार यहाँ पर्यटक आगमनमा बृद्धि भएको जनाइएको छ । उक्त प्राधिकरणले दिएको जानकारी अनुसार श्रीलङ्कामा चिनियाँ पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा यसवर्षको जुन महिनामा २८ प्रतिशतले बढेको छ ।

गएको जुन महिनामा करिब दश हजार चिनियाँ पर्यटक श्रीलङ्का पुगेका छन् । यो सङ्ख्या गतवर्षको भन्दा २८ प्रतिशतले बढी हो । यसरी यस महिनामा श्रीलङ्का पुग्ने चिनियाँ पर्यटक भारतपछि सबैभन्दा धेरै रहेको पनि बताइएको छ ।

यस महिना श्रीलङ्कामा १ लाख १८ हजार भन्दा बढी पर्यटक पुगेका छन् । तीमध्ये चिनियाँ पर्यटक भारतपछि सबैभन्दा धेरै रहेको पनि बताइएको छ ।

यस महिना भारतबाट श्रीलङ्कामा २७ हजार पर्यटक पुगेका छन् । यो सङ्ख्या श्रीलङ्का पुग्ने पर्यटकमा सबैभन्दा धेरै हो । अहिले पनि श्रीलङ्का पुग्ने पर्यटकमा भारत नै सबैभन्दा ठूलो राष्ट्र हो ।

गतवर्ष श्रीलङ्कामा करिब १८ लाख पर्यटक पुगेका थिए । यसबाट श्रीलङ्काले करिब तीन अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेको पनि समाचारमा जनाइएको छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा कम्बोडियाले सन् २०१६ को पहिलो चार महिनाभित्र करिब २ लाख ७५ हजार चिनियाँ पर्यटकलाई स्वागत गरेको जनाइएको छ ।

गत बर्षको यही समयको अवधीको तुलनामा यो सङ्ख्या १३ प्रतिशतले बृद्धि भएको कम्बोडियाको पर्यटक मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो समयमा कम्बोडिया जाने पर्यटकमा चिनियाँ बढी जाने गरेको अधिकारीहरुले समाचारमा जनाएका छन् ।

यस एसियाली राष्ट्रमा सन् २०१६ को जनवरीदेखि अप्रिल महिनासम्म पगेका सम्पूर्ण विदेशी पर्यटकमध्येमा १६ प्रतिशत चिनियाँ पर्यटकको आगमन भएको बताइएको छ ।

त्यसैगरी चीन र कम्बोडिया भ्रमणका लागि कैयौँ प्रत्यक्ष हवाई उडानहरु हुनु पनि यसरी चिनियाँ पर्यटक बढ्नुमा एक कारण रहेको जनाइएको छ ।

चिनियाँ नागरिकको प्रतिव्यक्ति आय धेरै हुनु र समूद्रपारका देशहरु भ्रमण गर्नसक्ने क्षमता भएको हुनाले पनि कम्बोडियाको पर्यटनको स्रोत चीन भएको हुनसक्ने बताइन्छ ।

कम्बोडियाले सन् २०२० सम्ममा २० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको बताइएको छ । त्यस बमोजिम नै चीनले पर्यटकीय क्षेत्रका पूर्वाधार र संरचनाको निर्माण गरिरहेका छन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *