तरकारीको मूल्य वृद्धि

Post Date : July 27, 2016 | 6:09 pm

पथरी (मोरङ), १२ साउन । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ ।

तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएको बारी नै डुबानमा परेको छ,” विराटनगर उपमहानगरपालिका– ११ का मोतीराम शर्माले भन्नुभयो ।

अहिले व्यपारीले पहाडी जिल्लाबाट तरकारी आयात गरिरहेका छन् । भारतबाट आयात गरिएको आलु, प्याज र गोलभेँडाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । हप्ता दिनअघि प्रतिकिलो रु ३० मा पाइने आलुको मूल्य अहिले रु ५५ पुगेको छ । यस्तै प्रतिकिलो रु ४० पर्ने गोलभेँडा रु ८०, रु ३० पर्ने काँक्रा रु ६०, रु ४० पर्ने प्याज रु ५५ पुगेको छ ।

यसैगरी प्रतिकिलो रु २० पर्ने बन्दागोभी बढेर रु ४० पुगेको छ भने रु १५ मा पाइने घिरौला अहिले रु २५ पुगेको छ । पहाडी जिल्लामा समेत तरकारी न्यून मात्रामा उत्पादन भएपछि मूल्य आकासिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *