माछापालनबाट वार्षिक दश लाख आम्दानी

Post Date : November 17, 2016 | 3:55 pm

कञ्चनपुर, २ मङ्सिर । बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आउनुभएको छ ।

दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु एक लाख लगानी गरी दुईवटा पोखरीमा माछापालन गर्नुभएको थियो । हाल उहाँले रु ३६ लाख लगानी गरेर सात बिगाहा जग्गामा सातवटा पोखरी निर्माण गर्नुभएको छ । व्यवसाय विस्तार गरेसँगै आम्दानी बढेको छ ।

“माछापालनमा वार्षिक रु २० लाख खर्च लाग्छ, खर्च कटाएर रु १० लाख आम्दानी हुने गरेको छ,” उहाँले भन्नुभयो । चौधरीले पोखरीमा सिल्भर, विगेट, कमन, रोहु, नैनी, भ्याकुर, ग्रासलगायत सात प्रजातिका माछापालन गर्नुभएको छ ।

उत्पादित माछा कञ्चनपुर र कैलालीसँगै भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीले पोखरीबाटै खरिद गरेर लैजाने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छैन,” उहाँले भन्नुभयो । उहाँले माछाका भुरा उत्पादनका लागि ह्याचरी स्थापना गर्ने सोच बनाउनुभएको छ ।

पोखरी रेखदेख गरेबापत स्थानीय चार जनाले रोजगारी पाएका छन् । उहाँ माछापालनमा यस वर्षको राष्ट्रपति कृषि पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *