हिलटप जुनार र नवप्रगति सहकारीबीच एकीकरण

Post Date : February 12, 2017 | 12:03 pm

काठमाडौँ, १ फागुन । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकीकरण भए जस्तै काठमाडौँका दुई सहकारीले समेत एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौं तीनकुनेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटीको नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले हिजो शनिबार विशेष एकीकरण साधारणसभा गरेर एकीकृत कारोबार थालेका छन् । सरकारले सहकारीको संख्या धेरै हुनुभन्दा गुणात्मक सहकारी संस्था हुनु पर्ने भन्दै एकीकरणको नीति ल्याएपछि यी दुई संस्था एकीकृत भएका हुन् । एकीकरणपछिको संस्थाको नाम हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहने छ ।

विशेष साधारणसभामा एकीकृत संस्थाका अध्यक्ष कृष्ण गिरीले एकीकरणको आवश्यकता र पहिचानबारे, कार्यकारी प्रमुख सुमनविक्रम थापाले एकीकरणको शर्त र कार्यविधि तथा उपाध्यक्ष बासुदेव घिमिरेले संस्था एकीकृत हुनुअघि र पछिको वित्तीय अवस्थाको प्रतिवेदन पेश गरेका थिए । तीन वटै प्रस्ताव विशेष साधारणसभाले पारित गरेको कार्यकारी प्रमुख थापाले जानकारी दिए ।

एकीकृत संस्थाको चुक्ता पूँजी १ करोेड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ करोड ८३ लाख ९० हजार रुपैयाँ पुगेको छ । दुवै संस्थाको गरी शेयरधनी संख्या ८ सय ९१ पुगेको छ । एकीकरणपश्चात दुवै संस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको कार्यकारी प्रमुख थापाले जानकारी दिए ।

एकीकरणपश्चात हिलटप जुनारले बचत तथा ऋणको कारोबारको अलावा कृषि तथा उत्पादनमूलक व्यवसायका माध्यमबाट संस्थामा सदस्यहरुलाई रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *