किराको प्रकोपले स्याउ सखाप

Post Date : April 26, 2016 | 7:26 pm

मुस्ताङ, १४ वैशाख । डिजीनम्स किराले स्याउमा भर्खर लागेको दाना, फूल र बोट सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् ।

खडेरीका कारण फैलिएको किराले कागबेनी, टुकुचे र मार्फा क्षेत्रका स्याउका बोट सखाप पार्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिनुभयो । हिमपात तथा पानी आवश्यक मात्रामा नपरेपछि स्याउमा समस्या देखिएको हो ।

गत वर्ष चैत महिनासम्म निरन्तर हिउँ परे पनि यस वर्ष हिउँदमा न्यून मात्रामा हिउँ परेको थियो । स्याउ उत्पादनका लागि आवश्यक पर्ने तापक्रम र मौसम अनुकूल बन्न नसकेको अधिकृत बरालको भनाइ छ । तापक्रम बढेका कारण लेते र कोबाङ क्षेत्रमा स्याउ उत्पादन हुन सकेको छैन भने मार्फाको तल्लो क्षेत्रमा समेत न्यून उत्पादन भइरहेको छ ।

“किरा नियन्त्रणका लागि विषादीको प्रयोग गरेका छौँ, तैपनि सफल हुन सकेका छैनौँ”, वरिष्ठ अधिकृत बरालले भन्नुभयो । यस्तो प्रकोप नौ वर्षपछि देखा परेको हो । कार्यालयले जिल्लाका मार्फा, जोमसोम, टुकुचे, कागबेनी, मुक्तिनाथ क्षेत्रलाई स्याउ उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । जिल्लाभर ९९७ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकामा ३३० हेक्टरमा स्याउ उत्पादन भइरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *