चितवनमा ८३८ नयाँ उद्योग

Post Date : August 8, 2016 | 3:00 pm

चितवन, २४ साउन । जिल्लामा गत आवमा ८३८ वटा नयाँ उद्योग थपिएका छन् ।

थपिएका उद्योगमा साना उद्योग ८१० र घरेलु २८ वटा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ती उद्योग सञ्चालनका लागि स्थिर पुँजी रु ५७ करोड १२ लाख ४७ हजार र चालु पुँजी रु ४१ करोड ३० लाख १९ हजार लगानी गरिएको छ । तीन हजार २४ जनाले रोजगारी पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उद्योग सञ्चालकमध्ये ७६२ पुरुष र १७९ महिला रहेका छन् । गत आवमा ९४ उद्योग लगत कट्टा भएका छन् भने ३१२ वटाको नवीकरण गरिएको छ । अघिल्लो आवमा एक हजार नौवटा उद्योग दर्ता भएका थिए । दर्ता भएकामध्ये २६ घरेलु र ९८३ साना उद्योग रहेका छन् । अघिल्लो आवमा स्थिर पुँजी रु ५८ करोड ५९ लाख ५६ हजार र चालु पुँजी रु ३७ करोड ३७ लाख ८३ हजार लगानी गरिएको थियो भने तीन हजार ५१७ कामदारले रोजगारी पाएका थिए ।

उद्योग सञ्चालकमध्ये ८५२ पुरुष र २०२ महिला रहेका थिए । अघिल्लो आवमा ५४ उद्योगको लगत कट्टा भएको थियो । अघिल्लो आवमा गाई, पाडा लगायतका पशुपालनमा सरकारी अनुदान बढेपछि उद्योग दर्ता बढेको कार्यालयका निमित्त प्रमुख रमेश कर्माचार्यले बताउनुभयो । गत आवमा कार्यालयमा सात हजार ६०० उद्योग दर्ता भएका छन् ।

सरकारले रु तीन करोडसम्म स्थिर पुँजी भएका उद्योगलाई साना, रु १० करोडसम्म स्थिर पुँजी भएकालाई मझौता र रु १० करोडभन्दा बढी स्थिर पुँजी भएकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरेको छ । साना उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता, नवीकरण र खारेजी गर्ने गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *