“धितोपत्र खरिद आवेदन रकम रोक्का राख्ने सम्बन्धी निर्देशिका – २०७३” छिट्टै लागू हुने

Post Date : April 30, 2016 | 8:29 am

नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैया चुक्ता पूँजी भएको वित्तीय संस्थाको खातालाई मात्र आइपिओको रकम रोक्का गर्न योग्य मान्ने निर्देशिका तयारी गरेका कारण विकास बैंक र फाइनान्स कम्पनीका खातावालाले साधारण शेयर निष्काशनमा लगानी गर्न नपाउने भएका छन् ।

बोर्डबाट ३ अर्ब रुपैया चुक्ता पूँजी भएका वित्तीय संस्थाले पनि निष्काशित साधारण शेयरका आवेदककै खातामै रकम रोक्काको काम गर्ने अनुमति लिएको हुनु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको चुक्ता पूँजी ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको १ अर्ब २० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड रुपैया चुक्ता पूँजी पुरयाउनु पर्ने निर्देशन जारी गरेको छ ।

त्यस्तै राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले ८० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले ४० करोड रुपैया चुक्ता पूँजी पुरयाउनु पर्नेछ ।

नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको “धितोपत्र खरिद आवेदन रकम रोक्का राख्ने सम्बन्धी निर्देशिका – २०७३” अनुसार शेयर खरिद आवेदन रकम रोक्का राख्ने सुविधा प्रदान गर्ने वित्तीय संस्थाको सकारात्मक नेट वर्थ भएको, लगातार तीन वर्ष नाफामा गएको, खरब कर्जा ५ प्रतिशतभित्र रहेको र नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा नगरिएको हुनुपर्छ ।

यो निर्देशिका कत्तिको व्यवहारिक हुन्छ, आउने दिनमा यसको मूल्यांकन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *