मिस्त्रीखोला आयोजना निर्माण सुरु

Post Date : November 30, 2016 | 4:02 pm

बाबियाचौर (म्याग्दी), १५ मङ्सिर । नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ ।

रु पाँच अर्ब ६४ करोडको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिनुभयो । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उहाँले भन्नुभयो ।

नारच्याङ बँेसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ ।

आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग रु ७० करोड, जलविद्युत् विकास कम्पनीसँग रु एक अर्ब र नेपाल बैंकसँग रु ५० करोड ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट रु एक अर्ब, लक्ष्मी बैंकबाट रु ४० करोड, सिद्धार्थ बैंकबाट रु ३० करोड र एस डेभलभमेन्ट बैंकबाट रु ३० करोड ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ ।

मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *