सेयर बजार उकालो लाग्यो

Post Date : November 29, 2016 | 5:07 pm

काठमाडौँ, १४ मङ्सिर । लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ ।

लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ ।

कुल १३१ कम्पनीको १४ लाख १४ हजार ३२८ कित्ता सेयर रु एक अर्ब १९ करोड १९ लाख १२ हजार २१३ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । ‘बियरिस ट्रेन्ड’मा रहेको बजारमा सोमबारदेखि सुधार देखिन थालेको हो । अर्थमन्त्री कृष्णबहादुर महराले हिजो आफूसँग भेट्न आएका लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गर्नुभएको थियो ।

स्टकका अनुसार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ०२ प्रतिशतले बढेको छ । उत्पादन समूहबाहेक अन्य समूह रातो हुँदा बजार उकालो लागेको हो । स्टकका अनुसार बैंकिङ २.९४, होटल ०.२, विकास बैंक २.७३, जलविद्युत् ५.५१, फाइनान्स १.१६, बिमा ४.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्दा उत्पादन समूह भने ०.९६ प्रतिशतले घटेको छ ।

आइतबार र सोमबार दुई–दुई पटक सर्किट ब्रेक लगाएको स्टकले आज पनि झन्डै बजार उकालो लाग्दा सर्किट ब्रेक नै लगाउनुपर्ने अवस्थामा पुगेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *