आज घोडेजात्रा मनाइँदै

Post Date : April 7, 2016 | 9:16 am

काठमाडौँ, २५ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा आज मनाइँदैछ ।

चैत कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशी भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका ‘कु’ तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन यी तत्वलाई केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

चैतकृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र त्यति गर्दा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“विशेषगरी बालबालिकालाई किचकन्नी, मूर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घनाबस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ”, उहाँले भन्नुभयो ।

पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालीमाटी क्षेत्रका मानिससमेत स्यूचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौँवासी बताउँछन् ।

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दिने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *