पाउलोनियाबाट मनग्य आम्दानी

Post Date : September 20, 2016 | 4:10 pm

पोखरा, ४ असोज । सम्भावनाको खोजी गर्दै माटोसँग खेल्न जान्ने हो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् लेखनाथ नगरपालिका– १७ चैनपुरका किसान खगेन्द्र अधिकारी ।

पाउलोनियाको बिरुवा उत्पादन गरी बिक्री वितरणबाट रु ३५ लाख आम्दानी गरेर उहाँ समाजका लागि अनुकरणीय बन्नुभएको छ । गृहलक्ष्मी मल्टी एग्रोफर्म संस्था दर्ता गरी उहाँले नर्सरीबाट करिब चार महिनाको आवधिमा ५० हजार पाउलोनियाका बिरुवा उत्पादन गरेर बिक्री गर्नुभएको छ ।

अधिकारीले प्रतिकिलो रु दुई लाख ५० तिरेर चीनबाट पाउलोनियाको बीउ खरिद गर्नुभएको हो । “बिरुवा बिक्री हुँदैनकी भन्ने चिन्ता थियो, तर अर्को वर्षको लागि समेत बिरुवाको माग हुन थालेकोछ,” उहाँले भन्नुभयो ।

कास्की, स्याङ्जा, पर्वत, गोर्खा, तनहुँलगायत जिल्लामा नर्सरीबाट प्रति बिरुवा रु १०० मा बिक्री गरेको उहाँले बताउनुभयो । नर्सरीमा हाल दुई जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वार्षिक रु पाँच लाख आम्दानी हुने सुन्तालाका बोट मर्न थालेपछि परीक्षणका रुपमा लगाइएका बिरुवा फस्टाएपछि उहाँले पाउलोनिया उत्पादनसँगै वक्षरोपण समेत थाल्नु भएको छ ।

चैरनपुरमा २० रोपनी तथा कास्कीको देउराली गाविसमा ७० रोपनीमा चार हजारभन्दा बढी पाउलोनीयाका बिरुवा रोप्नुभएको छ । वृक्षरोपण गरेको दश वर्षमा काठको रुपमा प्रयोग गर्न सकिने पाउलोनीयाबाट उत्पादन सुरु भएपछि काठ र फर्निचर उत्पादन गरी बिक्रीबाट वार्षिक रु दुई करोड आम्दानी गर्ने उहाँको लक्ष्य छ ।

पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा यस क्षेत्रका किसानको पाउलोनियाप्रति आकर्षण बढेको हो । निजीस्तरबाट पाउलोनियाको खेतीतर्पm आकर्षण बढेपनि व्यावसायिक खेतीतर्पm खासै पहल हुननसकेको जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउनुहुन्छ ।

“अन्य रैथाने जातका बिरुवाका लागि पाउलोनिया घातक हुने हुँदा वन क्षेत्रमाभन्दा झाडी भएको ठाउँमा रोप्न उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो । अन्य बिरुवाको तुलनामा दश गुना बढी कार्बनडाईअक्साइड शोषण गर्ने र त्यतिनै बढी अक्सिजन बाहिर फाल्ने हुँदा पाउलोनिया जलवायु परिवर्तन अनुकुलनका लागि महत्वपूर्ण मानिएको छ ।

समुद्री सतहबाट ४०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा रोप्न सकिने पाउलोनियाको फस्टाउन माटोको पिएच पाँचदेखि आठसम्म हुनुपर्दछ । वृक्षरोपण गरेको १० वर्षमा एउटा बोटबाट ४० देखि ६० क्युफिट काठ उत्पादन भई रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी लिन सकिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *