बायोग्यास उत्पादन तयारी अन्तिम चरणमा

Post Date : July 31, 2016 | 4:44 pm

काठमाडौँ, १६ साउन । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तायारी अन्तिम चरणमा पुगेको छ ।

भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि नेपाल आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । युरोपेली सङ्घ र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहरबाट ग्यास उत्पादन गर्न लागेको हो । जसमा युरोपेली सङ्घको ८० र महानगरपालिकाको २० प्रतिशत लगानी रहने छ । यसका लागि करिब रु दुई करोड लागत लाग्ने बताइएको छ ।

टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’मा दुई डाइजेस्ट प्लान्ट राखिने छ । सो प्लान्टमा दिनहुँ तीन टन फोहरबाट २५० एमक्यु (करिब ९६ किलो) ग्यास, २०० किलो मल र एक हजार ५०० लिटरदेखि तीन हजार लिटरसम्म पानी उत्पादन हुने छ । करिब ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ ।

उत्पादन भएको ग्यास सिलिन्डरमा भर्न समस्या हुने भएकाले बिजुली निकाल्न लागिएको हो । यस कार्यको जिम्मा राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले पाएका छन् । कम्पनीले रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता गरेको बताइएको छ ।

हाल वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् । उपत्यकामा एक दिनमा ५०० टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाका वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *