शेयर निष्काशनमा आस्बा प्रणाली माघ १ गतेबाट लागू हुने

Post Date : November 28, 2016 | 2:59 pm

काठमाडौँ, १३ मङ्सिर । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन प्रणालीलाई छिटो छरितो र पारदर्शी बनाउन आउँदो माघ १ गतेदेखि आस्बा (एप्लिकेसन सपोर्टेड बाई ब्लकेड एमाउण्ट) प्रणाली लागू गर्ने भएको छ ।

सार्वजनिक निष्काशन कार्यलाई सर्वसाधारणले सहज रुपमा धितोपत्र खरिद गर्न पाउने भन्ने उद्देश्यले आस्बा (एएसबीबीए) प्रणाली लागू गर्न लागेको बोर्डले जनाएको छ । आस्वा प्रणालीमा सहभागी हुन बोर्डले बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । बोर्डले पहिलो चरणमा ‘क’ र ‘ख’ वर्गको बैंकलाई आस्बा प्रणालीमा सहभागी हुनको लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम रहेको, प्रति शेयर चुक्ता पूँजीभन्दा प्रति शेयर नेटवर्थ बढी भएको, पाँच वर्षभन्दा बढी सञ्चालनमा रहेको र पछिल्लो दुई वर्षदेखि खुद मुनाफामा सञ्चालन भएको हुनु पर्ने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार निष्क्रीय कर्जा ५ प्रतिशत भन्दा कम रहेको, राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भई फुकुवा भएको ३ वर्ष पुगेको, काठमाडौँ उपत्यकाभित्र कम्तीमा ४ वटा शाखा भएको लगायतका मापदण्ड तोकेको छ ।

यो प्रणाली लागू भएपछि सार्वजनिक निष्काशनहरुमा शेयर आवेदनको लागि लगानीकर्ताले लाइनमा बस्न नपर्नुका साथै नगद रकम सबन्धित बैंकमा जम्मा गर्नु पर्दैन । यसमा आफूले शेयर खरिद गर्न लागेको रकम बैंक खातामा हुनु पर्छ । शेयरको लागि आवेदन दिएपछि शेयर बाँडफाँड नहँुदासम्म बैंकले उक्त रकम रोक्का गर्छ । शेयर बाँडफाँडपछि लगानी कर्तालाई शेयर परे अनुसारको रकममात्र सम्बन्धित खातामा रकमान्तर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *