विज्ञान प्रदर्शनी सुरु

Post Date : June 7, 2016 | 8:33 pm

तनहुँ, २५ जेठ । विज्ञान विषयका विद्यार्थीलाई विज्ञान तथा प्रविधिमा रुची बढाउने उद्देश्यले आजदेखि विज्ञान मेला एवम् प्रदर्शनी सुरु गरिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजनामा यहाँको निर्मल उमाविमा तीन दिने प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले आफ्नो मन्त्रालय सरकारको कम प्राथमिकतामा पर्दा सोचेअनुसारको काम गर्न नसकेको बताउनुभयो । अन्य देशका विज्ञान तथा प्रविधि मन्त्रालय निकै शक्तिशाली हुने भएका कारण पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा निकै फड्को मारेको उहाँको भनाइ थियो ।

प्रत्येक विद्यालयमा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिँदै मन्त्री थापाले यसवर्ष ५० वटा विद्यालयमा अध्ययन केन्द्र स्थापना गर्ने बताउनुभयो । युवा वैज्ञानिक विदेश पलायन भइरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

नाष्टका उपकुलपति प्रा डा जीवराज पोख्रेलले विज्ञान र प्रविधिमा सरकारको कम लगानी भएका कारण न्यून प्रतिफल आउने गरेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *